चन्द्रागिरि नगरमा क्रिकेट प्रशिक्षण सुरु, बालबालिकाको उत्साहजनक सहभागिता (भिडियोसहित)
थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसियसनको तत्ववधानमा चन्द्रागिरि नगरमा क्रिकेट प्रशिक्षण सुरु भएको छ । थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) मा शनिबारबाट प्रशिक्षण सुरु गरिएको हो ।
नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी तथा काठमाडाैं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी लगायतको उपस्थितिमा क्रिकेट प्रशिक्षण कार्यक्रमको सुरुवात भएको एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
क्याम्पको पहिलो दिन ५ जना बालिकासहित ४५ जनाले सहभागिता जनाएका छन् ।
क्रिकेटको सुरूवाती चरणबाट नै सैद्धान्तिक र प्राविधिक ज्ञान दिन प्रशिक्षण कार्यक्रम सुरु गरिएको संस्थाका जाविर हुसेनको भनाइ छ ।
प्रशिक्षणका लागि किट तथा अन्य सामाग्रीहरूको लागि एशोसियसनले नै सहजीकरण गर्ने बताइएको छ ।
चन्द्रागिरि नगरमा क्रिकेट प्रशिक्षणको सुरुवाती कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा खेलकुदका गतविधिहरू व्यवस्थित रुपमा अघि बढाउन नगरले अग्रसरता लिइरहेको बताए । फुटबल, भलिबल, मार्सल आर्ट्स, कराँते, ब्याडमिन्टन लगायतका खेल गतिविधि अघि बढाउन नगरले बजेट विनियोजन गरिरहेको बताउँदै नगर प्रमुख गिरीले नगर क्षेत्रमा क्रिकेट खेलका लागि प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनका लागि समेत सहजीकरण गर्ने धारणा राखे ।
यस्तै चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाट नै क्रिकेट खेलका गतिविधि बढाउन यस खालका प्रशिक्षणले सहयोग पुर्याउने विश्वास लिएको बताए ।
काठमाडाैं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले चन्द्रागिरि नगर क्षेत्रमा क्रिकेटको प्रशिक्षण सुरु हुनु आफैंमा प्रशंसनीय प्रयास भएको बताए । काठमाडाैं जिल्ला खेलकुद विकास समितिले चन्द्रागिरि नगरमा क्रिकेट खेलको प्रवर्द्धनमा सक्दो सहयोग पुर्याउने अध्यक्ष बलामीको भनाइ छ । कुनैपनि खेलमा दक्ष खेलाडी उत्पादनमा ग्रासरूट तहबाट नै प्रशिक्षण आवश्यक हुने उनको भनाइ ।
प्रशिक्षण माघ महिनाका ६ दिन सञ्चालन हुनेछन् । सार्वजनिक बिदाका दिन मात्रै प्रशिक्षण सञ्चालन हुनेछन् । हाल त्रिभुवन पार्कमा सुरु गरिएको प्रशिक्षण चन्द्रागिरि-६ स्थित मदन भण्डारी खेल मैदानमा समेत विस्तार गरिनेछ ।
सहभागीको संख्या हेरेर प्रशिक्षणको समयावधी थप गरिने चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ।














