नेपालकाे महिला टोली खो खो विश्वकपको फाइनलमा
थानकोट ।
नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ ।
भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो ।
शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।
उपाधिका लागि नेपालले दोश्रो सेमीफाइनलमा भिड्ने भारत र दक्षिण अफ्रिकाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै खो–खो विश्वकपको पुरुषतर्फ सेमिफाइनलमा पुरुष टोलीले अहिले केहीबेरमा इरानसँग खेल्दैछ । शुक्रबार भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७-१८ ले हराएर अन्तिम चारमा पुगेको थियो ।
प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।













