सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: क्वाटरफाइनल समीकरण पूरा
थानकोट ।
आयोजक नेपाल एपीएफ स्कुलको ए टीम नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न अन्तिम प्रि-क्वाटरफाइनल खेलमा जेम्स स्कुल, धापाखेलको चुनाैती ५-०ले पन्छाउँदै नेपाल एपीएफ स्कुलको ए टीम प्रतियोगिताको क्वाटरफाइनल चरणमा पुगेको हो ।
नेपाल एपीएफ स्कुलको ए टीमलाई क्वाटरफाइनलमा पुर्याउन विकास बोहोरा र पवन गुरुङले समान २-२ गोल गर्दा र तेन्जिङ्ग शेर्पाको नाउँमा १ गोल रह्यो । खेलमा विजयी टोलीका पारस मिजार म्यान अफ दि म्याच चुनिए ।
बुधबारको खेलपछि माघ २० गतेबाट सुरु भएको प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने सबै टोलीको टुंगो लागेको छ ।
जसअनुसार नेपाल एपीएफ स्कुल कीर्तिपुरका ए र बी टीम, जनसेवा मावि कीर्तिपुर, नेपाल एपीएफ स्कुल कोहलपुर, सैनिक आवासीय महाविद्यालय भक्तपुर, ग्रीन भिलेज एजुकेशन फाउण्डेशन स्कुल कीर्तिपुर, नेपाल पुलिस स्कुल साँगा, र ब्राईट होराईन चिल्ड्रेन्स होम मातातिर्थ रहेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि बिहीबार हुने क्वाटरफाइनलमा ब्राईट होराईन चिल्ड्रेन्स होम मातातिर्थ विरुद्ध ग्रीन भिलेज एजुकेशन फाउण्डेशन स्कुल, कीर्तिपुरबीच प्रतिस्पर्धा हुने छ भने दोश्रो खेलमा जनसेवा मावि, कीर्तिपुर विरुद्ध सैनिक आवासीय महाविद्यालय, सल्लाघारी मैदान उत्रने तालिका रहेको छ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।
प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।













