सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः ब्राईट होराईजन र सैनिक आवासीय सेमीफाइनलमा
थानकोट ।
ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थ र सैनिक आवासीय महाविद्यालय सल्लाघारी जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको मैदानमा भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा मातातिर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होम विजयी भयो । प्रतिस्पर्धात्मक खेलमा ग्रीन भिलेज एजुकेशन फाउण्डेशन स्कुल कीर्तिपुरलाई सडेन डेथमा पराजित गर्दै ब्राइटले अन्तिम चारमा स्थान पक्का गर्यो । निर्धारित समयमा दुवै टोलीबाट समान १-१ गोल भएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निर्क्योल गरिएको थियो, जहाँ ब्राईट होराईजन ५-४ ले बाजी मार्यो । खेलमा ब्राईट होराईजनका सन्देश महतरा म्यान अफ दि म्याच चुनिए ।
यस्तै दोश्रो क्वाटरफाइनलमा सल्लाघारी भक्तपुरको सैनिक आवासीय महाविद्यालय कीर्तिपुरको जनसेवा माविमाथि संघर्षपूर्ण जित निकाल्दै प्रतियोगिताको सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । खेलमा सैनिक महाविद्यालय ३-२ ले अघि रह्यो । सैनिकका आवासीय महाविद्यालयका लागि इसान तामाङ, सफल थापा र रोजित खत्रीले समान १-१ गोल गरेका थिए । खेलमा सुदीप देवकोटा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार अन्तिम दुई क्वाटर फाइनल खेल हुनेछन् । जहाँ आयोजक नेपाल एपीएफ स्कुल, कीर्तिपुरको बी टीम विरुद्ध नेपाल पुलिस स्कुल साँगाले पहिलो खेल खेल्नेछ । दोश्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरको ए टीमले नेपाल एपीएफ स्कुल, कोहलपुरको सामना गर्नेछ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।
प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।












