उज्वेकिस्तान र जोर्डन पहिलोपटक विश्वकपमा छनोट, दक्षिण काेरियापनि लगातार ११औं पटक विश्वकपमा

Thankot Times

थानकोट ।

एसियाली मुलुक उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

दुई टोली २०२६ विश्वकपमा स्थान बनाउने आठौं र नवौं टोली बनेका छन् ।

उज्बेकिस्तानले संयुक्त अरब एमिरेट्स (युएई)सँग गोलरहित बराबरी खेल्दा जोर्डनले ओमानमाथि ३–० को जित निकालेको हो । उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो ।

जोर्डनले एसियन कप २०२३ को फाइनल खेलेको थियो । अहिले विश्व वरीयतामा ६२औं स्थानमा छ ।

जोर्डनले पहिलो पटक सन् १९८६ मा विश्वकप छनोटमा भाग लिएको थिए र यो सातौं पटक हो ।

यसैगरी, एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट भएको छ ।

एसियाली तेस्रो चरणको छनोटमा गएराति इराकलाई २-० ले पराजित गर्दै दषिण कोरिया अर्को वर्ष उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

कोरियाको जितमा किम जिन ग्युले ६३औं र ओए हाएन ग्युले ८२औ मिनेटमा गोल गरे । जितपछि समूह बी मा रहेको कोरियाले ९ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा छ । कोरियाले कुवेतसँग अन्तिम खेल खेल्न बाँकी छ र उक्त खेल हारे पनि कोरिया शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइएको छ ।

जसमा हरेक समूहको शीर्ष दुईमा रहने टोलीले २०२६ को फिफा विश्वकपमा छनोट हुनेछन् । सन् १९८६ यता कोरिया लगातार विश्वकपमा छनोट भएको छ ।

तीन आयोजक राष्ट्रले स्वतः आफ्नो स्थान बनाइसकेका छन्। यसअघि जापान, न्युजिल्यान्ड, इरान र अर्जेन्टिना पनि छनोट भइसकेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *