आईसीसी विश्वकप क्रिकेट लिगः ३२४ रनको लक्ष्य पछ्याएको नेपाल २ रनले पराजित

Thankot Times

थानकोट ।

स्कटल्यान्डको डुन्डी जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

आइतबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए ।

भीमले ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले ६७, दिपेन्द्रले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।

नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको नाममा एक विकेट रह्यो ।

एकदिवसीय क्रिकेटमा नेपालले पाएको ३२४ रनको लक्ष्य हालसम्मकै उच्च थियो, जुन भेटाउनबाट नेपाल २ रनले चुक्यो ।

पूरै ओभर खेल्दा जित्न सकिने अवस्थाकाबीच करण केसी पनि ४९.३ ओभरमा ठूलो सट खेल्ने धुनमा क्याचआउट हुँदा नेपालको कीर्तिमानी आशा टुटेको हो ।

यही सिरिजको पहिलो खेलमा भने नेपालले स्कटल्याण्डविरुद्ध १ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *