एसीसी यू-१६ इस्ट जोप कपः मलेसियालाई हराउँदै नेपाल लगातार दोश्रोपटक फाइनलमा
थानकोट ।
नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेकाे छ ।
क्वालालम्पुरमा बिहीबार बिहान भएकाे पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै लगातार दोश्रोपटक उपाधि नजिक पुगेको हो ।
मलेसियाले दिएकाे ९१ रनकाे लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेसियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मलेसिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयाे । मलेसियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम खनालले ३ विकेट लिए ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् ।
सिङ्गापुरले हङकङले दिएकाे १ सय ६९ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
यो खेलको विजेता र नेपाल बीच उपाधिका लागि असार २१ गते शनिबार प्रतिस्पर्धा हुनेछ ।
नेपाल प्रतियोगिताको साबिक विजेता टोली हो ।












