थानकोट डिपो ल्याइदैँ गरेको डिजेल ट्यांकरबाटै चोरी, रंगेहात समातिए २ जना

Thankot Times

थानकोट ।

काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा डिजेल लिएर आउँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अमलेखगञ्जबाट थानकोटतर्फ आउँदै गरेको ना. ७ ख. २७९४ नम्बरको इन्धन ढुवानी ट्यांकरबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा एक भारतीयसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

पक्राउ पर्नेमा ट्यांकर चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हेटौँडा- ९ नवदुर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षीय वीरेन्द्र साह रहेका छन्। उनीहरूले हेटाैंडाको नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र ट्यांकर रोकेर तेल चोरी गरिरहेको बताइएको छ ।

उनीहरूले ट्यांकरबाट करिब ४० लिटर डिजेल चोरी गरेको प्रहरीको भनाइ छ । नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट २० हजार लिटर डिजेल लोड भएको सो ट्यांकरमा आधुनिक लकिङसमेत लगाइए पनि इन्धन चोरी भएपछि सो लकिङको विश्वसनीयता माथि नै प्रश्न उठेको छ, नयाँ पत्रिकामा खबर छ ।

पक्राउ परेका दुवै जनामाथि नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोटबाट अनुसन्धान हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *