नागढुङ्गा सुरुङ मार्गमा सवारी साधन गुडाउँदा कर तिर्नुपर्ने, दुई पांग्रेलाई नो-इन्ट्री

Thankot Times

थानकोट ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग अन्तर्गतको मुख्य सुरुङको ब्रेक-थू गरेका छन् ।

२ हजार ६ सय ८८ मिटर लामो सुरुङ मार्ग १ वर्षपछि मात्रै सार्वजनिक प्रयोगमा आउने बताइएको छ ।

यो सुुरुङमार्गको प्रयोग गरेर काठमाडौँ आउदा ३३ मिनेट र काठमाडौँ देखि बाहिर जाँदा २३ मिनेट समयको बचत हुनेछ ।

यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु/ आपतकालीन) गरी दुइटा सुरूङ छन् ।

आपतकालीन सुरूङको लम्बाइ २ हजार ५ सय ५७ मिटर छ । मुख्य सुरूङको दुवैतर्फ सवारीसाधन हुन्छन् । यदि कुनै दुर्घटना भइहाल्यो भने आपतकालीन सुरुङबाट तुरून्तै उद्धार गरिनेछ ।

आपतकालीन सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ ।

आपतकालीन सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ । यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा रहने छ । आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउनेछन् ।

साथै, मुख्य सुरूङ र आपतकालीन सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ ।

सुरुङभित्र दुर्घटना भएको अवस्थामा अथवा अन्य आपतकालीन अवस्थामा ति क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल आवतजावत गर्न सक्नेछन् ।

आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन÷तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन् ।

यो सुरुङमार्गमा बाट दुई पांग्रे साधनलाई आवतजावत गर्न दिइने छैन् । साथै, पेट्रोलियम पदार्थ बोकेका, ग्यास बोकेका साधानहरु सवारी सुरक्षाका हिसाबले भित्र जान पाउनेछैनन् । यस्ता साधनहरुले अहिलेकै सडक प्रयोग गर्नु पर्नेछ । सुरुङबाट मापदण्डअनुसार सामग्री बोकेका मलबाहक ट्रक, एम्बुलेन्स, दमकल लगाएतका साधनहरु गुड्न पाउने छन् ।

त्यस्तै, यो सुरुङमार्गको प्रयोग गर्ने साधनहरुले छुट्टै शुल्क तिर्नु पर्ने हुन्छ । सुरुङ प्रयोग गर्दा हुने समय र पेट्रोलियम पदार्थको बचतलाई आधार बनाएर शुल्क निर्धारण हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *