लोकतन्त्र दिवसः जनआन्दोलनमा स्यूचाटारका प्रधुम्न खड्कासहित बागमती प्रदेशमा १० जना सहिद

Thankot Times

थानकोट । 

आज बैशाख ११ गते लोकतन्त्र दिवस ।

सशस्त्र द्वन्द्वमा होमिएको तत्कालीन नेकपा माओवादी र संसदवादी सात राजनीतिक दलबीच भएको १२ बुँदे राजनीतिक सहमतिले १० वर्षे जनयुद्ध अन्त्य भएको दिन ।

राजाको अधिनायकवादी शासनविरुद्ध माओवादी र सात राजनीतिक दलको अगुवाइमा नेपाली जनता लोकतन्त्र र दिगो शान्तिका लागि २०६२/६३ सालमा जनआन्दोलन मार्फत सडकमा उत्रिएका थिए ।

२०६२ चैत २४ गतेदेखि नेपालमा दोस्रो जनआन्दोलन सुरु भएको थियो । जनताको साथ र सहयोगमा १९ दिनसम्म सञ्चालन भएको जनआन्दोलनको बलमा राज्य व्यवस्था परिवर्तन भएको थियो । स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र शान्तिको मागसहित आन्दोलनमा होमिएका उनीहरूमध्ये कतिपयले ज्यान गुमाए भने थुप्रै अङ्गभङ्ग र घाइते भए । कतिपयलाई कैदसमेत गरिएको थियो ।

जनआन्दोलनका क्रममा बागमती प्रदेश अन्तर्गत १० जनाले ज्यान गुमाउनु परेको थियो । ‘जनआन्दोलन र मानवअधिकार’ नामक पुस्तकमा उल्लेख भए अनुसार ज्यान गुमाउनेहरूमा काभ्रेका ३६ वर्षका भीमसेन दाहाल, नवलपरासीकी ३० वर्षीय तुलसी डुम्राकोटी, काभ्रेका २० वर्षीय शिवहरि कुँवर, सोलुखुम्बुका २१ वर्षीय दीपक कामी, मकवानपुरका ३० वर्षीय बासुदेव घिमिरे छन् । काभ्रेका १८ वर्षीय सगुन ताम्राकार, काठमाडौँका ३२ वर्षीय प्रद्युम्न खड्का, भारतका २८ वर्षीय मोहम्मद जहाँगिर खाँ, काभ्रेका ४२ वर्षीय अनिलकुमार लामा र नुवाकोटका ३६ वर्षीय चन्द्रबहादुर बयलकोटीले पनि जनआन्दोलनका क्रममा मृत्यवरण गरेको पुस्तकमा उल्लेख भएको रातोपाटीमा खबर छ ।

मकवानपुरको तत्कालीन आमभञ्ज्याङ गाविस–३ थर्पेडाँडाका बासुदेव घिमिरेको जनआन्दोलनका क्रममा काठमाडौँको कलंकीमा मृत्यु भएको थियो । २०६३ वैशाख ७ गते कलंकीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट उनको मृत्यु भएको थियो । ३० वर्षीय घिमिरे २०६२ चैत २४ गतेदेखि कलंकीको आन्दोलनमा अग्रपंक्तिमा थिए ।

२०३२ भदौ २५ गते आमभन्ज्याङ गाविस–६ पानीघाटमा जन्मिएका उनी कामको खोजीमा काठमाडौँ छिरेका थिए । उनी राम्रो फुटबल खेलाडी पनि थिए । उनी कलंकीमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

जनआन्दोलनको क्रममा घाइते भएका प्रद्युम्न खड्काको वैशाख १६ गते उपचारको क्रममा मृत्यु भएको थियो । वैशाख ७ गते कलंकीमा सुरक्षाकर्मीको दमनबाट घाइते भएका उनको भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

२०३२ भदौ १३ गते काठमाडौँको स्यूचाटार गाविस–४ मा जन्मिएका उनी घरका एकमात्र छोरा थिए । जनआन्दोलनमा सक्रिय सहभागी भएका खड्काले ८ कक्षासम्म पढेका थिए । खड्काको सम्मानमा स्यूचाटार चोकमा अर्धकदको शालिक स्थापना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *