पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ १० देखि ५० प्रतिशतसम्म बढ्याे

Thankot Times

थानकोट ।

दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ। पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको बताए।

संघका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रूपैयाँ रहेको गहुँको आँटा बढेर ९५ हुँदै अहिले ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै यो अवधिमा मैदा प्रतिकेजी ६० रुपैयाँबाट ११० रुपैयाँसम्म पुगेकोमा अहिले घटेर प्रतिकेजी ९० रुपैयाँमा किनबेच भइरहेको छ। गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार हुने बिस्कुट र पाउरोटीको मूल्य नघटेकचामल, दाल, गेडागुडी, चिउरालगायतका भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको खुद्रा व्यापारी बताउँछन्। कलङ्कीका खुद्रा व्यापारी विमल खत्रीले अधिकांश खाद्यवस्तुको भाउ महँगो भएकाले उपभोगमा ठूलो ह्रास आएको बताए। ‘हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ता आधा घटाएर दुई/दुई केजीमा सीमित हुन थालेका छन्’, उनले भने, ‘राम्रो ब्राण्डको चामल किन्नेले सस्तो चामल किन्न थालेका छन्।’

महँगी भएका विषयमा बढी खाद्यवस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको अवधिमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायत सबै वस्तुको भाउ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘भाउ बढ्नुको कारण खोज्यो भने कहीँकतैबाट उत्तर पाइँदैन’, उनले भने, ‘त्यसैले पनि आमउपभोक्ता कुन सस्तो छ र भन्नेमा पुगेर चुप लागेर बस्नुपर्ने अवस्था छ।’

तिमल्सिनाले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्यांक नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको उपभोग्य वस्तुको मूल्य वृद्धि कायमै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फिति ७.८८ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो।

केन्द्रीय बैङ्कको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फlति ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ। गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फlति ६.४९ प्रतिशत थियो।

यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गतका समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *